Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

मलाई निर्देशक बन्ने रहर थिएन : सरोज खनाल


११ असार,  काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उनको परिचयमा निर्देशक थपिँदैछ ।

योजना बनाएर चलचित्र निर्देशनको यात्रा प्रारम्भ नगरेको अभिनेता खनाल बताउँछन् । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आमदर्शक र समाजसम्म पुर्याउनुपर्छ भन्ने लाग्यो”, उनले भने, “यो कथा ममार्फत नै भन्नुपर्छ भनेर निर्देशन गरे । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा निकै अप्ठ्यारो हुन्थ्यो ।”

आफूलाई कथा वाचक भन्न रुचाउने अभिनेता खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे । किनकी उनिहरू अभिनयमा पोख्त हुनुका साथै चरित्रअनुसार उपयुक्त थिए । तर, उनिहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन ।

“मैले छायाङ्कनका क्रममा कुनै पनि कलाकारलाई अभिनय गरेर केही बताएन । केबल चरित्र र दृश्यलाई सम्झाए”, अभिनेता खनालले भने, “नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाए । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।”

सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्वपूर्ण हुनुपर्ने बताए । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । आफैँले धेरै चलचित्रमा सहकार्य गरेको अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन् ।

“अघिल्ला चलचित्रमा अभिनेत्री मानन्धरको सुन्दरतामा धेरै चर्चा गरियो वा केन्द्रित भइयो । यद्यपि यसमा उहाँको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । साथै नयाँ अभिनेत्री प्रमिला कार्कीले पनि आफूलाई अब्बल सावित गर्नुभएको छ”, उनले भने । चलचित्रको कथालाई नजिकबाट महसुस गरेको खनालको भनाइ छ ।

चलचित्रमा देखाइएको एकल महिलाले समाजमा गर्नुपरेको सङ्घर्षलाई आफ्नै परिवारमा देखेको खनालले बताए । उनले भने, “मेरो मामाकी छोरीको श्रीमान् बितेपछि एकल महिला बनिन् । त्यसपछि उनको जीवनशैली नै फेरियो । ती बहिनी एक्लो भएको मैले महससु गरेँ”, उनले भने, “बाहिरी रमाइलोमा उनको शरीर उपस्थित भए पनि मन खुसी थिएन । केही वर्ष अगाडि उनको पुनःविवाह भएपछि अहिले उनलाई छुट्टै पाउँछु । ती बहिनी बल्ल जीवन बाँचेकी छिन् ।”

त्यही कथालाई पुस्तकमा पाएपछि खनाल आफैँले निर्देशन गर्ने योजना बनाए । आउँदा दिनमासमेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उनको योजना छ । यद्यपि खनालले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिए । चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

स्वप्न नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफ एक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?