Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित


२७ जेठ, काठमाडाैँ । स्वर्गीय प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा तीन स्रष्टा सम्मानित भएका छन् । सम्मानित हुनेमा गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार रहेका छन् ।

ललितपुरमा आज आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले गीत तथा सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् वरिष्ठ गीतकार खरेललाई रू एक लाखसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान प्रदान गरे । यस्तै, वरिष्ठ सितारवादक तुलाधरलाई रू ७५ हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सङ्गीत सम्मान प्रदान गरे । यसैगरी गायिका नेवारलाई रू ५० हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कारबाट सम्मानित गरिएको छ ।

सम्मान तथा पुरस्कार हस्तान्तरणपछि लोकसंस्कृतिविद् दिवसले साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा जनस्तरमा ल्याउनु जरुरी रहेको बताए । “देशको विकास भौतिक रुपले मात्रै नभई कलात्मक र साहित्यिक रुपले पनि अगाडि बढ्नु जरुरी छ । प्रेमध्वजलाई आधार बनाएर गरिएको कार्यक्रमको प्रशंसा गर्दछु”, उनले भने । गीत र सङ्गीतले मनोरञ्जन मात्रै दिँदैन, देश र विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने दिवसको भनाइ थियो ।

वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीले प्रेमध्वज प्रधानको आवाजमा रेडियो नेपालमा २०१३ सालमा पहिलो गीत ‘रेकर्ड’ भएपछि हिन्दी गीतको दबदबा हट्दै गएको बताए । “प्रेमध्वज प्रधानको आवाजमा रेडियो नेपालमा २०१३ सालमा ‘यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ…’ भन्ने गीत रेकर्ड भएको थियो । विसं २०१४ पछि नेपाली गीत रेकर्ड हुन थाले, त्यसअघिसम्म हिन्दी गीतको दबदबा थियो । हिन्दी गीत विस्थापित हुन थाले, नेपाली गीत स्थापित हुन थाले”, उनले भने ।

गीतकार अधिकारीले नेपाली भाषाको परिष्कृत र परिमार्जनलाई हेर्नुपर्यो भने खरेलका गीतलाई अध्ययन गर्दा हुने धारणा राखे । खरेलका गीतमा प्रकृति, प्रेम र लोकजीवन पाउन सकिने उल्लेख गर्दै उहाँले खरेलका दुई दर्जनभन्दा बढी गीत प्रेमध्वज प्रधानको आवाजमा प्रवाहित भएको बताए ।

सम्मान कार्यक्रममा आनन्द कार्की, उदेश श्रेष्ठ, सुरज थापा र पुरस्कृत कलाकार नेवारले प्रेमध्वज प्रधानका गीत प्रस्तुत गरेका थिए ।

 


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?