Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सुरु हुँदै नेपाल–चाइना फेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३


२५ जेष्ठ ,काठमाडौँ । दक्षिण एसियामा पहिलोपटक ‘नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ नेपालमा हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आगामी असार ८ र ९ गरी दुई दिनसम्म पोखरामा हुने भएको हो ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएसन नेपाल र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिजसँगको सहकार्यमा उक्त फेस्टिभल पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा सञ्चालन हुनेछ ।

पर्यटन बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न यस खेलले महत्वपूर्ण योगदान पुर्याउने बताए । “विश्वव्यापी महामारीका कारण खस्किएको पर्यटन क्षेत्रको ९२ प्रतिशत सुधार भइसकेको छ । हाल बढ्दै गएको पर्यटकको सङ्ख्यामा यस फेस्टिभलले अझ थप वृद्धि गर्छ भन्ने विश्वास लिएका छौँ, जसले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुर्याउँछ”, उनले भने ।

पहिलोपटक नेपालमा सञ्चालन गर्न लागिएको यस फेस्टिभल आगामी वर्षदेखि वार्षिकरूपमा सञ्चालन गर्ने तयारीमा रहेको बोर्डका सिइओ रेग्मीले जानकारी दिए । बेमौसमी समयमा सञ्चालन हुने उक्त फेस्टिभलले नेपालको पर्यटन क्षेत्रलाई अझ बलियो पार्ने उनको भनाइ छ ।

नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिङले नेपाल र चीनबीच लामो समयदेखिको मित्रतामा यस फेस्टिभलले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । “हामी दुई देशबीचको भौगोलिक निकटता, सांस्कृतिक तथा जनस्तरको सुमधुर सम्बन्ध बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउनमा यस फेस्टिभलले ठूलो योगदान पुर्याउँछ”, उनले भने ।

यस बोट फेस्टिभलमा ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना हुँदै आइरहेको एवं यो एसियन गेममा समेत सहभागी गराइने उनले जानकारी दिए । रेसका लागि चीनबाट आठवटा विशेष खालको बोट, अन्य आवश्यक सामग्री र चीनबाट बोट रेस तथा प्रशिक्षणको लागि आउने प्रतियोगी नेपाल आइसकेका छन् ।

फेस्टिभलमा नेपालका सातै प्रदेश र चीनबाट आएका प्रतियोगी सहभागी हुनेछन् । कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले दुई सय मिटर र पछि पाँच सय मिटर गरी आठवटा बोट रेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ साथै कार्यक्रममा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी हुने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सिइओ रेग्मी, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख सिङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उपसचिव सरोज पोखरेलद्वारा संयुक्तरूपमा उक्त फेस्टिभलको लोगो सार्वजनिक गरेका थिए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?