Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण विधेयकमाथि छलफल सुरु


८ जेष्ठ ,काठमाडौँ । संसदीय समितिमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल प्रारम्भ भएको छ ।

सङ्घीय संसद, कानुन, न्याय तथा मावन अधिकार समितिको आजको बैठकमा उक्त विधेयक माथिको छलफलमा भाग लिँदै सदस्यहरुले अवैधरुपमा हुने सम्पत्ति आर्जन र अनधिकृत आर्थिक कारोबारलाई निस्तेज तुल्याउने हिसाबले विधेयकलाई समृद्ध तुल्याउन आवश्यक रहेको बताए ।

बैंकिङ, प्रविधि र व्यवसायको विश्वव्यापीकरणसँगै आर्थिक अपराधसमेत बढ्दै गएको, कुनै स्थान विशेषमा रही जुनसुकै देशमा अपराध गर्न सकिने अवस्था रहेको तथा देशबाट हुने पूँजी पलायन रोक्नका लागि कानुनी व्यवस्था गर्न सरकारले उक्त विधेयक ल्याएको हो ।

विप्रेषणलाई हुण्डीमार्फत विदेशमै रोक्ने तथा राजस्व छल्नेजस्ता आर्थिक अपराध गर्ने, आपराधिक आर्जनको विदेशमा नै भुक्तानी लिने र व्यवस्थापन गर्नेजस्ता कार्यका विरुद्ध कारबाही चलाउन पर्याप्त कानुनी व्यवस्था गर्ने विधेयकको उद्देश्य रहेको छ ।

बैठकमा समिति सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विधेयक खासगरी सम्पत्ति शुद्धिकरण, घरजग्गा कारोबार, हुण्डी तथा सहकारी र मानव बेचबिखनसँग जोडेर आउने गलत प्रवृत्तिलाई रोक्नेतर्फ लक्षित रहेको धारणा राखे ।

पूर्वसभामुख एवम् समिति सदस्य सुवास नेम्वाङले विधेयकलाई पूर्णता दिँदै अघि बढाउने सिलसिलामा सत्तापक्ष र प्रतिपक्षबीच एउटै मत भएकाले यथाशक्य छिटो पारित गर्नेतर्फ सबैको जोड बल आवश्यक रहेको बताए ।

सम्पत्ति शुद्धिकरणलाई कडाइ गर्ने र विदेशी लगानी भित्र्याउने सन्दर्भमा बाधाअड्चन नपुगोस् भन्नका खातिर समयमै ध्यान पुर्याउन समितिका अन्य सदस्यले सुझाव दिए । समिति ज्येष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको अध्यक्षतामा बसेको बैठकमा १४ जना सदस्यले विधेयकसँग केन्द्रित भई आफ्ना भनाइ प्रस्तुत गरेका थिए ।

विधेयकलाई संसदबाट पारित गराई कार्यान्वयनमा ल्याउन सकेमा सम्पति शुद्धिकरण निवारणसम्बन्धी नेपालको कानुनी व्यवस्था अन्तर्राष्ट्रिय मापदण्डबमोजिम हुन गई प्रभावकारीरुपमा कारबाही चलाउन सहज हुने विश्वास लिइएको छ ।

सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसँग सम्बन्धित विभिन्न १९ वटा ऐनमा संशोधन गर्नका लागि सरकारले उक्त विधेयक प्रस्तुत गरेको हो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?