Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आठ सय वर्ष पुरानो ‘तिजी’ पर्व मनाइयो


४ जेष्ठ ,म्याग्दी । मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पहिलेदेखि सुरु भएको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व ‘तिजी’ मनाइएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा मङ्गलबारदेखि सुरु भएको तिजी पर्व बिहीबार सकिएको हो ।

लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पद्मसम्वाको तस्बिर अङ्कित थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालिएको थियो । उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए । यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखिया प्रथालाई मान्यता दिँदै आएका छन् ।

राजाका लामा बसेका बाहेकका सन्तान दिवङ्गत भएपछि अनिष्ठ नहोस् भनेर तिजी पूजा गर्ने परम्परा बसालेका इतिहास छ । दुई तले घर बराबरको उचाइ भएको थाङ्का तिजी पर्वमा मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दशवटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथिदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् ।

तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य छेवाङ रिङजिङ गुरुङले बताए । “दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आए”, उनले भने, “तिजी पर्व संस्कृति र परम्परामात्र नभएर पर्यटक भ्यियाउने माध्यम पनि बनेको छ ।”

लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरूको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाइएको बताए । “प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गरेका छौँ”, उनले भने, “पहिलो दिन जमिनका देवी–देवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र राक्षसलाई लखेटेको अभिनय लामाहरूले नृत्यमार्फत देखाएर पर्वको समापन गरिएको छ ।”

तिजीमा लामाहरूले देखाइने नृत्य विशेष आकर्षण हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले तिजी पर्व अवलोकनका लागि आएका स्वदेशी र विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका बताए। माटोको पर्खालभित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?