Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

धम्की र घेराबन्दीको सामना गरिनेछ : प्रधानमन्त्री


२३ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन् । नेपाल दलित मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा कुनै कञ्जुस्याइँ नगरिने बताए।

उनले भने, “लामो समयदेखि गलत नीति, संस्कार, बेथिती, कार्यशैली र मुख्यतःभ्रष्टाचारका कारणले नै नेपालको स्थिति अहिले आर्थिक सङ्कटको स्थिति बनेको हो ।” उनले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाईं भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताए । उनले भने, “सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतीपूर्ण छ । सुशासन भन्नेबित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।”

प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आएको सुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताका रुपमा अगाडि बढाएको बताए । उनले भने, “मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।”

प्रतिगमनविरुद्धको आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “दुई/दुई पटक संसद् विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौँको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्र परास्त भए, नेपाली जनता फेरि विजयी भए, हामी फेरि विजयी भयौँ ।”

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका उल्लेख गर्दै भने, “हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्याउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैँ लडेर ल्याएको अधिकार हो ।”

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता महेश्वरजङ्ग गहतराज, गोपीबहादुर अछामी सार्कीलगायतले दलित तथा अल्पसङ्ख्यक समुदायको हितका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका थिए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?