Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल


९ वैशाख ,दमौली । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनमा सहभागी भई मतदान गर्न सम्पूर्ण आम मतदातामा अपिल गरेका छन् । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकार्य जारी रहनेछ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भयरहित र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको जानकारी दिए । निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द हुने भएको छ ।

उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो । मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

तनहुँ जिल्ला भएर सञ्चालन हुने रात्रिबस बिहान ४ बजेअगावै जिल्ला पार गरिसक्न प्रशासनले आग्रह गरेको छ । उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?