Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

संमृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री दाहाल


९ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताए ।

उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको उल्लेख गरेका छन् ।

इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको स्मरण गर्दै प्रधानमन्त्री दाहाल मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका जनाए ।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्”, सन्देशमा उनले भनेका छन्, “मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।”

प्रधानमन्त्री दाहालले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले मुस्लिम समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?