Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सामाजिक सुरक्षालाई बृहत् सहभागितामूलक योजना बनाइनुपर्छ : मन्त्री भण्डारी


५ वैशाख ,काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत् सहभागितामूलक योजना बनाउनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको कार्यक्रममा उनले उक्त योजना भर्खरै सुरुआत भएकाले वास्तविक श्रमिकमैत्री बनाएर अघि बढ्नुपर्ने बताए ।

सामाजिक सुरक्षा योजनालाई सफल बनाउन एनआरएनको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले श्रम स्वीकृति लिएका वा नलिएका सबै नेपालीलाई कानूनी दायरामा ल्याउन सरकारले विशेष पहल सुरु गर्ने बताए । त्यसका लागि एनआरएनएसँगको सहकार्य महत्त्वपूर्ण हुने उनको भनाइ थियो । “श्रमिकको सुरक्षा र उनीहरूको श्रमको सम्मानका लागि पनि सरकार सरोकारवाला र गन्तव्य मुलुकका सरकारसँग संवाद गरेर अघि बढ्छ”, उनले भने, “योजनाको फाइदाबारे सबैलाई बुझाउनु जरुरी छ ।”

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरूसँग श्रम सम्झौतालगायत नीतिगत र सरकारी प्रक्रियागत काम सुरु भएको बताए । कार्यविधि कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र उल्झनलाई क्रमशः समाधान गर्दै जाने उनको भनाइ थियो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकलाई अभिमुखीकरणका लागि निरन्तर कार्यक्रम, अनलाइन कक्षा, २४ घण्टे कल सेन्टरसहित एनआरएनएको सञ्जालसहित बैंकिङ च्यानललाई प्रयोग गरिने बताए । कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलका रूपमा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेकामा आभार व्यक्त गरे ।

योजनाको सफलताका लागि कोषको केही रकम रोजगारदातालाई पनि तिर्न लगाउनुपर्नेमा उनले जोड दिए । योजना सुरुआत हुनु सकारात्मक भए पनि त्यसमा परिमार्जन आवश्यक भएको उनको भनाइ थियो । अध्यक्ष केसीले सरकारको योजनालाई सफल बनाउन एनआरएनले पहलकदमी लिने र आफ्नो जिम्मेवारी ठानेर सबै श्रमिकलाई पनि योजनामा सहभागी गराउने बताए ।

एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले सबै वैदेशिक रोजगारीमा रहेकाहरूलाई योजनामा जोड्न देशैपिच्छे अभियान चलाउन आवश्यक रहेको र त्यसका लागि एनआरएनएले सरकारसँग प्रत्यक्षरूपमा सहकार्य गर्ने बताए ।

सामाजिक सुरक्षा कोषको योजना सरकारको मात्रै नभई एनआएनएले सन् २०११ देखि उठाउँदै आएको एजेण्डा पनि भएकोले संसारभर रहेका नेपाली श्रमिकको सपना पूरा भएको जिकिर गर्दै उक्त योजनालाई सफल बनाउनु जिम्मेवारी र कर्तव्यसमेत भएको उल्लेख गरे ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?