Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशूली पारिबाट नयाँ ट्रयाक खोल्ने विषयमा छलफल


काठमाडौँ।भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. विजय जैसीले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार बाढी र पहिरोले विशेषगरी गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको छ । महानिर्देशक जैसीकाअनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ । यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ । गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो, जसलाई विभागले चुनौतीपूर्ण अवस्थाका बीच पन्छाएर यातायात सुचारु गरेको छ ।

बाढीले देशभर विभाग मातहतका ३१ वटा पुलमा क्षति पु¥याएको छ । कतिपय पुल पूर्ण रूपमा बगेका छन् भने कतिपयको स्पानमा क्षति पुगेको छ । विभागले तत्कालका लागि तीन स्थानमा बेलिब्रिज जडानको प्रक्रिया शुरु गरिसकेको छ । देवीघाटस्थित तादी खोलामा ५० मिटर लामो बेलिब्रिज हाल्ने तयारी भइरहेको छ भने त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडानका लागि डिजाइन सम्पन्न भएको छ । अन्य २० वटा क्षतिग्रस्त पुलहरूको प्राविधिक सर्वेक्षण भइरहेको र आवश्यकताअनुसार बेलिब्रिज राखिने विभागले जनाएको छ ।

धादिङबेंसी जोड्ने फुर्केखोलाको पुल भाँचिएपछि माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गमार्फत सम्पर्क स्थापित गरिएको छ । त्यसैगरी, काठमाडौंबाट धुन्चे जानका लागि टोखा–छहरे–विदुर–बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशूली पारिबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जैसीले बताए ।

सडकको आकस्मिक मर्मत र पुनस्र्थापनाका लागि सडक बोर्डको बैठकले तत्काल ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । थप आवश्यक खर्च योजना अन्तर्गतकै बजेटबाट व्यवस्थापन गरिनेछ । हाल कार्यक्षेत्रमा ५० जनाभन्दा बढी वरिष्ठ प्राविधिक, इन्जिनियर र मेकानिक्सहरू खटिएका छन् । विभागले १५ वटाभन्दा बढी हेभी इक्विपमेन्टहरू विभिन्न खण्डमा परिचालन गरेको छ । दशैँ नजिकिँदै गरेको अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ र ग्यास बुलेटको आपूर्तिका लागि त्रिभूवन राजपथ र कान्ति लोकपथलाई प्राथमिकतामा राखिएको छ । वीपी राजमार्गमा साना सवारीलाई प्राथमिकता दिने र अत्यावश्यक सामग्री बोकेका ट्रकहरूलाई रातको समयमा हेटौँडाबाट पठाउने योजना आपूर्ति मन्त्रालयसँगको समन्वयमा बनाइएको छ ।

महानिर्देशक जैसीकाअनुसार हाल कोदारी राजमार्ग सञ्चालनमा छ भने इलामको राँके–दुहाली खण्डको अवरोध पनि हटाइएको छ । वर्षात्को मौसम अझै बाँकी रहेकाले विभागले आफ्ना सम्पूर्ण संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?