काठमाडौँ। कवाड व्यवसायीहरुले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेको छ ।
कवाड व्यवसायी संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । समितिले काठमाडौं महानगरपालिकाले कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि विगत दुई वर्षदेखि अन्यायपूर्ण दमन गरिरहेको आरोप समेत लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै कवाड व्यवसायी संघर्ष समितिका प्रतिनिधि ओमप्रकाश सिंहले कवाड व्यवसायीहरूले मुलुकमा सञ्चालित धातुजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको भएपनि काठमाडौं महानगरपालिकाले व्यवसायीमा अन्याय गरिरहेको बताएका छन् । उनले कवाड व्यवसायले देशको व्यापार घाटा घटाउन, राजश्व संकलन बढाउन र वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको दाबी रेका छन् ।
उनले कवाड संकलन व्यवसायी र मजदुरमाथि कुटपिट गर्ने, संरचना भत्काउने, सामान जफत गर्ने, साइकल खोस्ने, अपहरण शैलीमा मान्छे लैजाने तथा मानसिक त्रास सिर्जना गर्ने कार्य तत्काल रोक्न तर काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराउदै संविधानले सुनिश्चित गरेको व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न, कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्न तथा यसमा संलग्न काठमाडौं महानगर प्रहरी र जिम्मेवार व्यक्तिमाथि कानूनी कारबाही गर्न माग गरेका छन् । साथै कवाड संकलन मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग तत्काल कदम चाल्न तथा विस्थापित कवाड व्यवसायीहरूको रोजगारी सुनिश्चित गर्न पनि माग गरेका छन् ।
उनले भने, ‘विभिन्न धातुजन्य उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ कवाड व्यवसायीहरुले आपूर्ति गर्दै आइरहेका छन् । देशको व्यापार घाटा कम गर्न तथा राजश्व संकलनमा समेत कवाड व्यवसायको ठूलो भुमिका रहेको छ । हाल यो व्यवसायमा एक लाखभन्दा बढी मानिस प्रत्यक्ष रुपमा आवद्ध रहेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छौँ । वातावरणको सरसफाईमा समेत कवाड व्यवसायको योगदान रहेको छ । तथापि काठमाडौं महानगरपालिकाद्वारा विगत दुई वर्षदेखि कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब आम वर्गमाथि अन्यायपूर्ण कार्य, शारिरिक कष्ट, संरचना भत्काउने, समान जफत गर्ने, अपहरण शैलीमा मान्छे लैजाने, साइकल लैजाने र मानसिक त्रास सिर्जना गर्ने कार्य निरन्तर भइरहेको छ । महानगरको यस्तो गतिविधिले संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने मौलिक हक अधिकार हनन भएको छ । हाम्रा मागहरु संविधानले दिएको व्यवसाय गर्न पाउनुपर्ने अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड संकलन मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादति र संरचना भत्काउने जस्ता कार्यहरु तत्काल राक्नुपर्ने, साथै यस्ता कार्यमा सलंग्न काठमाडौं महानगर प्रहरी र जिम्मेवार व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्ने, कवाड संकलनकर्ता मजदुरको जिउधनको सुरक्षा गर्न नेपाल सरकारले तत्काल कदम चाल्नुपर्ने, साथै सरकारले विस्थापित कवाड व्यवसायीहरुको रोजगारी सुनिश्चित गर्नुपर्दछ ।’
उनले काठमाडौं महानगरद्वारा पीडित बनाइएका फुटपाथ व्यवसायी तथा अन्य साना व्यवसायीहरुलाई समेत आफूहरुसँग सहकार्य गर्न आह्वान गरेका छन् । उनले सरकारले आफूहरुका मागहरु यथाशक्य सम्बोधन नगरे जेनजी पुस्तासँगको सहकार्यमा आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएका छन् ।
प्रकाशित मिति: ६ पुष २०८२, आईतवार