Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने


काठमाडौँ। निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने भएको छ ।

निर्वाचन आयोगको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि योग्य व्यक्तिहरुले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नसक्ने भएका हुन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावलीमा नाम संकलन गर्न नपाइने कानूनी व्यवस्था भएपनि सरकारले अध्यादेश जारी गरेर मतदाता नामावलीमा नाम संकलन गर्ने बाटो खोलेको बताएका छन् ।

प्रतिनिधि सभाको विघटन हुनुअघि नै रुपन्देही क्षेत्र नम्बर ३ मा निर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली संकलनको कार्य रोकिएको थियो । यस्तै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति घोषणा गरे पछि पनि मतदाता नामावलीमा नाम संकलन गर्ने काम बन्द भएको थियो । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न योग्य भएका तर मतदाता नामावलीमा नाम नभएर मतदान गर्नबाट वञ्चित नागरिकलाई यसले मतदानको अवसर दिएको बताएका छन् । स्थगनमा रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया बिहीवार (आज) कै मितिबाट शुरु भएको जानकारी दिएका छन् । मतदाता नामावलीमा नाम समावेश छैन भने आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम संकलन गर्न, त्रुटी भए सच्याउन र कोही बसाईंसराई भएको वा मृत्यु भएको छ भने लगत कट्टा गर्न आह्वान गरेका छन् । कुन ठाउँबाट मतदान प्रक्रियामा भाग लिन होे त्यही ठाउँमा मतदाताको नामावली कायम गर्न आयोगले आग्रहसमेत गरेको छ । अहिले संकलन गरेको मतदाता नमावलीमा संकलित हुने मतदाताहरु फागुन २० गते १८ वर्ष पूरा हुनुहुन्छ भने फागुन २१ गते बिहान ७ बजेबाट प्रारम्भ हुने मतदान प्रक्रियामा उहाँहरु सहभागी हुन पाउने जानकारी दिएका छन् ।

उनले भने, ‘रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधित्व गर्नुहुने दीपक बोहरा स्वर्गीय भएपछि २०८२ असार १६ गते ०८२ कार्तिक १७ गते रुपन्देही ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन्छ भनेर घोषणा ग¥यौँ । अहिले हाम्रो प्रचलनमा रहेको कानून जब निर्वाचनको मिति घोषणा हुन्छ, निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम संकलन गर्न पाइँदैन । त्यसलाई निषेध गर्दछ । त्यो चलिरहेको थियो, पछि आएर अहिले पूरै प्रतिनिधि सभा नै भंग गरेर २०८२ साल फागुन २१ गते निर्वाचन गर्ने भनेर सम्माननीय राष्ट्रपतिज्युबाट मिति घोषणा भयो । असार १६ गतेबाट बन्द रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया बन्द थियो । अहिले प्रचलनमा रहेको कानूनले सम्बोधन गर्न नसक्ने भएपछि हामीले सरकारसँग समन्वय गरेर अध्यादेशमार्फत हो भने हामी पुनः मतदाता नामावली नाम संकलन गर्न सक्दछौँ । नत्र अहिलेको कानूनले निषेध गर्दछ भनिसकेपछि सरकार र हाम्रो बीचमा समन्वय भएर सम्माननीय राष्ट्रपतिज्युलाई अनुरोध गरिसकेपछि अध्यादेश जारी भएको छ । आजै हाम्रो आयोगको बैठक बसेर स्थगनमा रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया आजकै मितिबाट शुरु हुन्छ । मतदाता नामावलीमा नाम समावेश छैन भने आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम संकलन गर्नुस्, त्रुटी भए सच्याउनुस्, कोही बसाईंसराई भएको वा मृत्यु भएको छ भने त्यो पनि लगत कट्टा गर्नुस् र कुन ठाउँबाट मतदान प्रक्रियामा भाग लिने त्यो प्रयोजनलाई त्यही ठाउँमा मतदाताको नामावली कायम गर्नुस् भनेर अनुरोध गरिसकेका छौँ । अहिले संकलन गरेको मतदाता नमावलीमा संकलित हुने मतदाताहरु फागुन २० गते १८ वर्ष पूरा हुनुहुन्छ भने फागुन २१ गते बिहान ७ बजेबाट प्रारम्भ हुने मतदान प्रक्रियामा उहाँहरु सहभागी हुन पाउनुहुन्छ ।’

२०८२ साल कार्तिक १६ गतेसम्म मतदान गर्न पाउने मतदाताको संख्या पुरुष ९२ लाख ५१ हजार ५ सय ४१ र महिला ८९ लाख १६ हजार ५ सय २ रहेको बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीकाअनुसार अन्य १ सय ८७ जना रहेका छन् । नेपालको कुल मतदाता संख्या कार्तिक १६ गतेसम्मको १ करोड ८१ लाख ६८ हजार २ सय ३० जना रहेका छन् । मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य पुनः शुरु भएसँगै यसबाट १० लाखसम्म बढ्नसक्ने अनुमान रहेको बताए । बिहीवारबाट शुरु भएको मतदाता नामावली संकलन कार्य कार्तिक मसान्तसम्म सञ्चालन हुनेछ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाता नामावलीमा नाम संकलन गर्न बाँकी रहनुभएका नागरिक र फागुन २० गते १८ वर्ष पुग्ने नागरिकले मतदाता नामावलीमा नाम टिपाउन सक्ने बताएका छन् ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा समावेश नभएकाले फागुन २१ गते हुने मतदानमा भाग लिन नपाउने बताए ।

जेन जी पुस्ताको आन्दोलनसँगै केपी शर्मा ओली नेतृत्वको सरकार पतनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । रुपन्देही ३ को उपनिर्वाचनको मिति तोकिएसँगै गत असारदेखि नै मतदाता नामावलीमा नाम संकलन हुन सकेको थिएन । जसकारण आगामी फागुन २० गतेसम्म १८ वर्ष पुग्नेहरुले पनि मतदान गर्नसक्ने व्यवस्थाका लागि अध्यादेश जारी भइसकेको छ । योग्य नेपालीले अब कार्तिक मसान्तसम्म आफ्नो नाम मतदाता नामावलीमा नाम संकलन गर्न सक्नेछन् ।


प्रकाशित मिति: ९ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?