काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सोमबार सांझ बालुवाटारमा मन्त्रीपरिषद् बैठक सकिएपछि आफ्नो भनाई विज्ञप्ती मार्फत सार्वजनिक गर्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्न सरकारले गरेको प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र जेन–जी पुस्ताको सोचबीच श्रृजना भएको केही अस्पष्टताले आजको अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । उनले सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा नरहेको पनि उहाँले उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन । अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो । बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन ।’
उनले प्रदर्शनका क्रममा भएको दुखद घटनाले आफुलाई मर्माहत बनाएको भन्दै विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने परिस्थिति श्रृजना भएको स्पष्ट पार्नुभएको छ । उनले जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक नरहेको पनि उनले स्पष्ट पारेका छन् । प्रदर्शनमा भएको घुसपैठले संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्याउने घटनाहरु भएका कारण ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ – ‘जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पु¥याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो । ’
सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन सरकार लागि रहेको भन्दै उहाँले सर्वोच्चको आदेश अनुसार सरकारले निर्णय गरेको स्पष्ट पारेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन् ‘सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक पटक आग्रह गर्दै आएको थियो । कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचिकरण गरे पनि केहीले पटक पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । ’
प्रधानमन्त्रीले प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा अत्यन्तै दुःखी भएको उल्लेख गर्दै घटनाबाट परिवारका सदस्य गुमाएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने पनि जनाएका छन् । त्यसैगरी, सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने प्रतिवद्धता पनि जनाएका छन् ।
यसैबीच, मन्त्रीपरिषद्को बैठकले घटनाको छानविन गर्न न्यायीक छानविन आयोग गठन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले छानविन समिति गठन संगै संरकारले बन्द गरिएका सबै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी दिएका छन् ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार