Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

शिक्षक–प्रहरीबीचको झडपमा पत्रकार कार्की घाइते, तिलगंगा आँखा अस्पतालमा उपचार हुँदै


काठमाडौँ। आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपको क्रममा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । सोही समयमा समाचार सङ्कलनको लागि पुगेकी प्राइम टाइम्स टेलिभिजनकी पत्रकार कार्की घाइते भएकी हुन् । उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । चोटको कारणले कार्कीको दुवै आँखाको लेन्सहरू सुन्निएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । घाइते कार्कीले समाचार सङ्कलनको क्रममा पानीको फोहोराले एक्कासी अनुहारमा लागेको बताइन् । उनले आफू ढलेपछि एक शिक्षिकाले प्रहरीलाई खबर गरेपछि प्रहरीले उपचारको लागि अस्पताल पुर्याएको बताइन् । उनले बायाँ आँखाले केही हदसम्म हेर्न मिले पनि दायाँ आँखा खोल्नै नमिलेको बताएकी छिन् ।

उनले भनिन्, “पानीको फोहोरा एक्कासि आयो । म छेउ तिरै थिए । एक्कासि अनुहारमा लाग्यो । म ढलेँ । एक जना शिक्षिका आएर प्रहरीलाई खबर गरिदिनुभयो । त्यसपछि अस्पताल लैजानुभयो । दाहिने आँखाले देख्दै देख्दैन । देब्रे आँखाले हेर्न मिल्छ । दाहिने आँखा खोल्नै मिल्दैन ।”

उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठकाअनुसार आँखाभित्र रगत जमेको कारणले भिजन एकदमै कम रहेको हो । चोटको कारण आँखाको प्रेसर पनि बढेको उनले बताए । घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेको थियो । पत्रकार महासङ्घले पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको बताएको छ । महासङ्घले घाइते पत्रकार कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?