काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् ।
शनिवार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताएका छन् ।
उहाँले काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहने बताउदै उनले कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कोशिस नगर्न आग्रह गरेका छन् । उनले वर्तमान सरकारको विकल्पमा कोशिस नगरे राम्रो हुने बताए ।
उनले भने , ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ । म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु, पछि पनि तपाईंले सोध्नुहुन्छ, मैले जवाफ दिनुपर्छ, यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोशिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोशिस नगरे हुन्छ, त्यो व्यर्थको कोशिस हो । तपाईंहरुले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ । यो सरकारको लाभ लिने हिसावले तपाईंहरु अघि बढ्नुस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु ।’
उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोशिसहरु सार्थक हुन नसक्ने दाबी गर्दै अस्थिरतालाई मलजल हुने खालका गतिविधिमा समाचार व्यतित नगर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार